साउन ७ पोखरा । ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको ३ दिने वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम सोमबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा भएको तालिम सोमबार समापन गरिएको हो ।
काम गरिरहेका पथ प्रदर्शकले पदयात्राका क्रममा भोगेका यावत समस्या समाधान गर्न सिकाउने उद्देश्यले आयोजित तालिममा ९० जनाको सहभागिता रहेको थियो । तालिममा पदयात्राका क्रममा वन्यजन्तु भेटिदा अप्नाउनुपर्ने सावधानी, आक्रमण भइहालेमा बच्ने उपाय, आफू वा पाहुना पर्यटक घाइते भएमा गरिने प्राथमिक उपचार, दुर्घटनामा वा वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उद्धार तथा पदयात्राको गन्तव्य पहिचानका लागि गरिने नक्साको प्रयोगसँगै हाईअल्टिच्यूड तथा छिनछिनमा हुने मौषम परिवर्तनमा अप्नाउनुपर्ने साबधानीबारे तालिम दिइएको टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । पुर्नताजगी तालिम भएकाले पदयात्रामा दशकौंदेखि काम गरिरहेका पथप्रदर्शकहरु सहभागि रहेको उनले बताए । ‘काम गरिरहेकाहरुले भोगेका समस्या समाधान कसरी गर्ने भन्ने केन्द्रीत तालिम हो । यसले पथ प्रदर्शकलाई आगामी दिनमा पदयात्रा सुरक्षित बनाउन सघाउँछ’–उनले भने ।
तालिममा नेभिगेसन र म्याप रिडिङबारे विज्ञ प्रेम गुरुङ, वन्यजन्तु सम्बन्धि एक्यापका आयोजना प्रमुख रवीन कडरिया, उद्धारबारे सशस्त्र प्रहरी बल कालिका गण पोखराका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अरुण शर्मा, प्राथमिक उपचार सम्बन्धि प्रदेश स्वास्थ्य निर्देशनालयका नवराज शर्मा, हाईअल्टिच्यूड तथा मौषम परिवर्तनसँगै अप्नाईनुपर्ने सतर्कताबारे माउण्टेन गाईड तथा सो विषयमा अध्यापनरत जगन तिमिल्सिना, शेषकान्त शर्मालगायतले सहजीकरण गरेको टान गण्डकीका सचिव तीर्थराज सुवेदीले जानकारी दिए ।
तालिम समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तालिमले पथप्रदर्शकलाई फूलचार्ज गराएको बताए । आज ट्रेनिङ दियो ६ महिनापछि ती तालिम लिएकाहरु ब्जारमा खोज्दा नपाउने स्थिति छ,उनले भने,‘पथ प्रदर्शनमा त्यस्तो अवस्था हुने छैन भन्ने विश्वास गर्छु । यस तालिमले दक्ष जनशक्तिको अभाव मेटाउनेछ ।’ उनले ट्रेकिङका पथप्रदर्शक पर्यटनको ऐना भएको बताए । पथप्रदर्शकले पर्यटकमाथि जस्तो व्यवहार गर्छ, त्यो पर्यटकले आफ्नो देश फर्केर त्यस्तै प्रतिक्रिया जनाउने बताउँदै उनले भने,‘यहाँ तपाईंहरुले राम्रो गर्नुभयो भने उसले आफ्नो देश फर्केर नेपालको गुणगान गाउँछ, होईन, तपाईंले नराम्रो गर्नुभयो भने नराम्रो भन्दै हिंड्छ र देशको बेईज्जत हुन्छ ।’ त्यसैले पथप्रदर्शक पर्यटनको व्याकबोनसमेत भएको उनको भनाई छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।