पोखरा ।
नेपाली नारीहरुको पर्व तीजलाई सद्भाव र क्रान्तिको रुपमा लिन सक्नु पर्ने बताइएको छ । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिको १० औं वार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रममा नेपाली कांग्रेस नेतृ कोपिला रानाभाटले तीजमा पुरुष र तिहारमा नारीको महत्व बुझ्न सक्नु पर्ने बताएकी हुन् । नेका गण्डकी प्रदेश समितिका सहमहामन्त्री रानाभाटले पर्वलाई आत्मियता, सद्भाव, अस्तित्व र सामाजिक क्रान्तिको रुपमा मनाउनु पर्नेमा जोड दिइन् । तीज पर्वलाई मर्यादित, अनुशासित र भड्किलो रहित ढंगबाट मनाउन नेपाली कांग्रेस निकट सवै संस्थाले अगुवाई गर्नु पर्ने समय आएको उल्लेख गरेकी थिइन् ।
नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका सभापति कमलबहादुर पाण्डेको अध्यक्षता, वरिष्ठ उपसभापति माधव लम्सालको स्वागत र सचिव श्यामबहादुर इटनीको सञ्चालनमा भएको सभामा नेतृ रानाभाटले विकसित हुँदै गएको समाजलाई रमाईलो र आनन्दमा परिणत गर्नु पर्ने बताईन् । २०१६ सालमा नेपाली कांग्रेस पार्टीले समावेसी, महिला मैत्री, देश प्रेमको भाव दिन सफल भएको धारणा राख्दै भावनात्मक विश्वास जित्न सफल हुनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका पार्टी प्रवक्ता एवं पूर्व सचिव विनोद तिमिल्सिनाले राष्ट्रिय पर्व तीजलाई नमुना योग्य कार्यक्रम बनाउन सफल भएकोमा उदाहरण योग्य समिति बनेको चर्चा गरे । उनले अभिव्यक्ति स्वतन्त्रता पार्टीको गहना भएको बताउँदै सत्ताले कांग्रेस खोज्ने स्थिति बन्नु मनन्ु योग्य भएको उल्लेख गरे । कांग्रेसमा गुट र फुट सधै अन्त्य हुनु पर्ने बताएका नेता तिमिल्सिनाले धादिङ जिल्लाले प्राप्त गरेको संघीय कृषि मन्त्रालयबाट किसानलाई राहत दिन सकिने बताए । धादिङ कांग्रेस पार्टी सचिव विकास श्रेष्ठले पार्टीले आफ्नो शक्तिमा विश्वास गर्न सक्ने आधार यस्तै समितिहरु भएकाले नेकाको घोषणापत्र अनुरुप विजयी हरेक तहका जनप्रतिनिधिलाई खवरदारी गरिरहनु पर्ने बताए ।
नेका कास्कीका सहसचिव नवीन सिग्देलले महिलाले नेतृत्व गरेको संस्था विश्वास र भरोसा योग्य हुने गरेको धारणा राखेका थिए । उनले धादिङबाट हरेक पेशा व्यवसायमा आवद्ध भएर पार्टीलाई बलियो बनाउन गरेको योगदानलाई कास्की कांग्रेसले भुल्न नसक्ने बताए । कार्यक्रममा नेकपा एमाले धादिङ पोखरा सम्पर्क मन्चका पूर्व अध्यक्ष शेरबहादुर अधिकारी, धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष बविता मल्ल इटनी लगायतले शुभकामना दिएको कार्यक्रम संयोजक नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिका सहसचिव शान्ता धरेलले जानकारी दिएकी थिइन् । कार्यक्रममा नेका धादिङ पोखरा सम्पर्क समितिका संस्थापक सभापति केदार धमला, निवर्तमान सभापति लालप्रसाद पाठक, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, प्रेस सल्लाहकार हरि पन्त लगायतको उपस्थिति रहेको थियो ।
वार्षिक साधारण सभा कार्यक्रममा सचिव श्यामबहादुर इटनीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष लालप्रसाद ढकाल(सन्देश)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वस्तुगत तर्फ सदस्यको उम्मेदवारी दिएका लालप्रसाद ढकाललाई जिताउन आवश्यक पहल गरिने उल्लेख भएको थियो । वार्षिक सभामा एसईई र दश जोड दुई उत्तिणर् करिव १३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।