पोखरा । पोखराको सेती नदीमा पानीको बाहाब बढेसँगै नदी किनारमा बसोबास गर्दै आएका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबारदेखि अविरल वर्षाका कारण नदीमा पानीको बाहाब बढेसँगै पोखरा – गोष्टी टोलस्थित नदी किनारमा बसोबास गर्दै आएका ५ घरपरिवारका २३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।
नदीमा पानीको बाहाब बढेसँगै सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै बाढीको जोखिममा रहेका उनीहरुलाई सम्पुर्ण सामग्रीहरु सहित गोष्टी टोल बिकास संस्थाको भवनमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार बिष्णु माया सुनुवारका ५ जना, डोल्मा शेर्पाका ७ जना, सुकदेव गुरुङका ४ जना, डावा शेर्पाका ४ जना र काजी शेर्पाका ३ जनाको परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।
शुक्रबारदेखि पोखरासहित देशैभर वर्षा भइरहेको छ । शनिबार विहान ८ः४५सम्म पोखरामा १३०.५ मिमि वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।