पोखरा । आज साउन महिनाको पहिलो सोमबार । पर्यटकिय नगरी पोखरामा बोलबम धार्मिक यात्रा सुरु भएको छ ।
साउन महिनाभर पोखराको बैदामस्थित केदारेश्व महादेवमणि सेवाश्रम समितिको आयोजनामा प्रत्येक सोमबार सञ्चालन हुँदै आएको बोलबम धार्मिक यात्रा शुरु भएको हो ।
विगत २३ वर्षदेखि पोखरा महानगरपालिका वडा नम्बर–१, वगर शुक्लागण्डकी गाइघाटबाट जलयात्रा शुरु गरि पोखरा–६ वैदाममा रहेको केदारेश्वर महादेवको मन्दिरसम्म सञ्चालन हुँदै आएको छ ।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ शुरु भएको बोलबम धार्मिक यात्रामा भक्तजनले गाईघाटबाट जल लिएर ८ किलो मिटर दूरी हिडेरै लेकसाइस्थित केदारेश्वर मन्दिरमा जल चढाएका छन् ।
वर्षायाममा उर्लेर आएको सेती नदी किनारमा पुगेका भक्तजनको सुरक्षाका लागि सशस्त्र प्रहरी गण कालीका तालीम प्राप्त रेस्क्यु टिम परिचालन गरिएको थियो । भने भक्तजनको सहजताका लागि विहान साढे तीन बजेदेखिनै मन्दिरका चार वटै ढोकाहरु खुल्ला गरि सहज दर्शनको व्यवस्था मिलाइएको पनि विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले जानकारी दिए ।
यसपालि साउनमा ४ वटा सोमबार परेका छन् । शिवलिङ्गमा पवित्र जल तथा बेलपत्र चढाउन कास्कीका विभिन्न स्थान सहित तराई र भारतको विभिन्न स्थानबाट पोखरा आई व्यापार व्यवसाय गरेका भक्तजनको पनि बोलबम धार्मिक मेलामा बाक्लो उपस्थित रहेको थियो ।
साउने सोमबार भगवान शिवको महिमा मानिने हुँदा भक्तजन उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट ल्याएको जल शिवलिंगमा चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।