पोखरा १६ द्वारा विद्यावारिधी गरेका व्यक्ति र उत्कृष्ट दुई विद्यालयलाई सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौं २० पोखरा । पोखरा महानगर पालिका वडा नं. १६ ले विभिन्न विषयमा विद्यावारिधी गरेका वडाभित्रका विभिन्न शिक्षासेवीलाई सम्मान गरेको छ ।

 ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा वडा शिक्षा समितिको निर्णय अनुसार २५ जना विषय विज्ञ र २ वटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । 

वडाले प्रा.डा. टंकनाथ शर्मा, डा. गेहेन्द्रमान उदास, डा. दिर्घमान गुरुङ, डा. गोपाल घिमिरे, डा. महेन्द्र व.बानियाँ, डा. अर्जुन बानियाँ,  प्रा.डा. धुर्व ब. कार्की, डा. श्रीराम आचार्य, डा. निशा राल, डा. सुरेश पौडेल, डा. प्रज्ञा गौतम, डा. उत्तम थापा, डा. विदुर देवकोटा, डा. गौतम गुरुङ, डा. सुनिल भट्टराई, डा. श्रीकृष्ण आचार्य, डा. कुशल शर्मा, डा. पुष्पराज आचार्य, डा. अनुप बस्नेत, डा. संजय शर्मा तिमिल्सीना, डा. सुख ब.गुरुङ, डा. चन्द्र गुरुङ, डा.पुनम गौचन सहित २५ जनालाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, पोखरेली रत्न जोर्ज जोन, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले सम्मान पत्र, माला र सल ओढाएर सम्मान गरे । 
 
सो अवसरमा सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल बाटुलेचौरको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट पाँचमा पर्न सफल लामाचौरको ईन्द्रराज्य लक्ष्मी मा विलाई सम्मान गरिएको छ । 
विन्ध्यवासिनीका तर्फवाट प्रधानाध्यापक कृष्ण्प्रसाद आचार्यले सम्मान ग्रहण गरेका थिए । 

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिकाका मेयर आचार्यले विशेषज्ञता हासिल गरेका विज्ञहरुको सम्मानले, समाज नै सम्मानित भएको बताए । उनले वडाको विकासमा यस्ता विज्ञवाट सुझाव लिई समग्र योजना वनाउन सुझाव दिए । मेयर आचार्यले आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन आग्रह समेत गरे । 

मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा कार्यान्वयन ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची,पृथ्वीनारायण क्याम्पसका संस्थापक एवं पोखरेली रत्न जोर्ज जोन,सम्मानित व्यक्तित्व डा.महेन्द्र बानियाँ, वडा शिक्षा समितिका जयराम पौडेल लगायतले यस क्षेत्रको विकासमा सम्मानित व्यक्तिको भुमिका महत्वपुर्ण हुने बताए । वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले स्वागत गरेकोे कार्यक्रमको संचालन मुल समारोह समितिका सदस्य भीमवहादुर गायक र सुनिता देवकोटाले गरेका थिए ।
 
मेला अन्र्तगत अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगितामा १७ वटा विद्यालयले सहभागिता जनाएका छन् । मेलाको अन्तिम दिन शुक्रवार समुहगत तीज गीत प्रस्तुती रहने वताईएको छ । मेलामा प्रतिकुल मौषमका बावजुद पनि त्यस आसपासका क्षेत्रवाट दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।