मोटर प्रयोग गरी पानी तान्नेमाथि कारवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयले विजुलीको मोटर प्रयोग गरी पानीको खपत बढि गर्ने उपभोक्तालाई कारवाही सुरु गरेको छ । खानेपानी संस्थान पोखराले विभिन्न क्षेत्रमा अनुगमन गरिरहेको अवस्थामा पानी चोरी गर्ने उद्देश्यले मोटर प्रयोग गर्ने उपभोक्तालाई जरिवाना लगाउने जनाएको छ । खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख सव-इन्जिनियर प्रकाश सिलवालको नेतृत्वमा गएको टोलीले पोखरा ३ नदीपुर क्षेत्रमा आधा दर्जन उपभोक्ताको धारामा जडित मोटर जफत गरेको उल्लेख छ । 
विन्ध्यवासिनी इकाई प्रमुख एवं संस्थान पोखरा शाखाको सूचना अधिकारीसमेत रहेका सिलवालको नेतृत्वमा पोखरा शाखा पार्दीबाट कर्मचारी केदार धमला, विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत श्रीकृष्ण बास्तोला, चुडामणि अधिकारी, बाबुराम विश्वकर्मा, मनबहादुर धामी र सवारी चालक दिलिप खाँड ठकुरी रहेका थिए । संस्थानले नियमानुसार जरिवाना लगाउने जनाएको छ । संस्थानलाई अटेरी गरी पटक-पटक मोटर प्रयोग गरे संस्थानले थप कडा कारवाही गर्न सक्ने जनाएको छ । सुख्खा याममा मोटर प्रयोग गरिदिँदा छिमेकी तथा आसपासको घरहरुमा पानी नआउने समस्या हुँदा संस्थानले वितरण गरेको पानीको अभाव हुँदै आएको उपभोक्ताहरुले बताउँदै आएका छन् । 
खानेपानी संस्थानले पोखरा नगर क्षेत्रमा अनुगमनलाई तीब्रता दिएको नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख ई.आशिष कार्कीले बताएका छन् । कार्कीले उपभोक्तालाई अनुशासित भई पानी आफूलाई जस्तै अरुलाई पनि चाहिन्छ भन्ने भावना राख्न अनुरोध गरे । प्रमुख कार्कीले लामो समयको खडेरीले पानी उत्पादनमा कमी भएको स्विकार्दै आलोपालो गरेको पानीमा मोटर जडान गर्दा पानीको प्रेसर घटबढ हुन गई थप समस्या पैदा हुने भएकोले गैह्र कानुनी काम नगर्न उपभोक्तासँग आग्रह गरे । पोखरामा कही उपभोक्ताले मोटर नचलाउँदा थोपै पानी नझर्नेसमेत बताउँदै आएका छन् । पोखराको सेतीपारी क्षेत्रमा पानीको उच्च अभाव हुने गरेको स्थानीयहरुले बताएका छन् । संस्थानले पालो प्रणालीमा पानी वितरण गरेपनि उपभोक्ताको चाहना अनुरुप वितरण गर्न नसकेको उल्लेख्य गुनासो रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।