कर्मचारी संघको जुम बैठक सकियो, नवनियुक्त महाप्रबन्धक ढकाललाई बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिको नियमित २२ औं जुम बैठक मंगलबार सम्पन्न भएको छ । कर्मचारी संघका अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको जुम बैठक संघका महासचिव पदमहरि राईले विराटनगरबाट सञ्चालन गरेका थिए । भद्रपुर शाखाबाट स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष राजु वस्नेतले संस्थानको हितमा कर्मचारी संघले गरेको कार्यलाई बजारीकरण नहुँदा समस्या पैदा भएको धारणा राखेका थिए । वैठकले नवनियुक्त महाप्रबन्धक अर्जुनबाबु ढकाललाई बधाई दिएको छ । 
कर्मचारी संघले कर्मचारी सेवा शर्त विनियमावली छिटो ल्याउनु पर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष संस्थानमा लागु गराउनु पर्ने, जनशक्तिको उचित व्यवस्थापन गर्नु पर्ने, कामको जिम्मेवारी नभएका कर्मचारीलाई अबिलम्व शाखागत कामको जिम्मेवारी प्रदान गर्नुपर्ने, महशुल बृद्धि गर्नु पर्ने, दण्ड र पुरस्कारको प्रभावकारी नीति कार्यान्वयन गर्नु पर्ने लगायत विषयमा छलफल भएको संघका उपाध्यक्ष सरजुन केसीले नेपालगञ्जबाट जानकारी दिएका थिए । 
वैठकमा संघको कोषाध्यक्ष शान्तिकुमारी ज्ञवालीले केन्द्रीय कार्यालयबाट हुने तथा भएको संघको गतिविधिको जानकारी दिएकी थिइन् । केन्द्रीय समितिले नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिमा संस्थान गतिविधि, कर्मचारीका समस्या तथा समाधान, संस्थान हितमा संघबाट गर्नु पर्ने कार्यहरुको बारेमा जानकारी दिँदै आएको केन्द्रीय सदस्य हरि अधिकारीले जानकारी दिएका थिए । बैठकमा सचिव अजयकुमार प्रसाद, अनिल शर्मा सुवेदी, प्रेमबहादुर वली, अनुभा अर्याल, ईन्द्रराज पाण्डे, तारिप्रसाद भट्टराई, नवराज भट्ट, विरेन्द्रकुमार सिंह, राजेश बर्मा लगायतले विभिन्न धारणा राखेका थिए । 
कर्मचारी संघ केन्द्रीय समितिले कर्मचारीको गहना अनुशासन मात्र भएकाले संस्थानको सवै शाखाका क्रियाशील इकाई समितिलाई सोही अनुरुप गर्न अनुरोध गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।