खानेपानीको समस्या समाधान गर्छु ः मन्त्री राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजविराज । 
खानेपानी मन्त्री राजेन्द्र कुमार राईले खानेपानी संस्थानको समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन् । राजविराज नगरपालिकामा सहज, सरल र स्वच्छ पिउने पानी वितरण गर्ने योजना सकारात्मक भएको बताए । संविधानको मर्म अनुरुप प्रत्येक नेपालीले स्वच्छ पिउने पानी पाउनु पर्ने अधिकारलाई खानेपानी संस्थानले क्रियाशील भएर लागेकोमा धन्यवाद दिएका थिए । 
राजविराज नगरपालिका वडा नं १ चनौरा पडरियामा २ करोड ५२ लाख ६९ हजारको लागतमा तयार गरेको र वडा नं ६ खर्साल टोलमा २ करोड ८१ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण भएको ४ सय ५० घनमिटर क्षमताको ओभरहेड पानी पोखरी उद्घाटन गरेका मन्त्री राईले उपभोक्ताको हितमा संस्थान जिम्मेवार भएर लाग्न आग्रह गरेका थिए । 
सञ्चालक समितिका अध्यक्ष गुणाखर भुषालको अध्यक्षतामा भएको सभामा खानेपानी मन्त्रालयका सचिव सुरेशराज आचार्यले संस्थानले कर्मचारीको अभावकै बीच सेवा गरिरहेको चर्चा गर्दै आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको धारणा राखेका थिए । 
खानेपानी संस्थानका महाप्रबन्धक डा. ईश्वर प्रसादले ५० प्रतिशत कर्मचारीको भरमा संस्थान चलाउँदा उत्पादनमुखी बन्न नसकेको बताए । स्वागत मन्तव्य समेत व्यक्त गरेका महाप्रबन्धक डा. ईश्वरले विनियमावली छिटो भन्दा उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरेका थिए । खानेपानी संस्थान राजविराज शाखामा करिव ३ हजार २ सय धारा मार्फत उपभोक्तालाई सेवा गर्दै आएको राजविराज शाखाका कार्यालय प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए । 
खानेपानी संस्थान कर्मचारी संघका महासचिव पदमहरि राईले सरकारको १ घर १ धारा प्रदान गर्ने लक्ष्य भेट्टाउन खानेपानी संस्थानले मात्र गर्न सक्ने भएकाले मन्त्रालय थप जिम्मेवार हुँदै कर्मचारी सेवा शर्त विनियमावली अनिवार्य आवश्यक भएको बताए । महासचिव राईले माथिल्लो तहमा दक्ष कर्मचारी अभाव हुँदा संस्थान कमजोर बनेको धारणा राख्दै पीडित कर्मचारी बोकेर सम्मानित सर्वोच्च अदालत जान नपरोस भन्दै व्यवस्थापनलाई चेतावनी दिएका थिए । केन्द्रीय कर्मचारी प्रशासन प्रमुख कमल थापाले सञ्चालन गरेको सभामा राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परविन, नेकपा एमाले पोलिट्व्यूरो सदस्य एवं पूर्व सांसद सुमन प्याकुरेल लगाायतले बोलेका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।