साउन १७ पोखरा । पोखराका ३ जनाले कास्कीको एक विद्यालयका विद्यार्थीलाई आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका छन् ।
एकै मितिमा जन्मदिन परेका नेपाली कांग्रेस कास्कीका नेता कृष्ण केसी, पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र सञ्चारकर्मी महेन्द्र ढुङ्गानाले संयूक्तरुपमा कास्कीको मादी गाउँपालिका–१० मकैखोलास्थित जनकल्याण मा.वि.का ५ जना विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेका हुन् । साउन १७ गते जन्मदिन रहेका उनीहरुले विद्यालयका विपन्न परिवारका ५ जनालाई आर्थिक सहयोग गरेको पोखरा–२६ स्थित जलधारे टोल विकास संस्थाका अध्यक्ष समेत रहेका सञ्चारकर्मी ढुङ्गानाले जानकारी दिए ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेस कास्कीका पूर्व सभापति समेत रहेका नेता केसीले फजुल खर्च गरेर जन्मदिन मनाउने परिपाटीलाई चिर्दै विगतदेखि आफुहरु ३ जनाले सामाजिक कार्य गर्दै आएको बताए । उनले भने, ‘समग्र शिक्षा क्षेत्रमा राज्यले जति पहल गर्नुपर्ने हो त्यो पुरा हुन सकेको छैन् । त्यसको सुधारका लागि सरकारलाई झकझकाउन हामी लागी पर्नेछौं ।’
कार्यक्रममा वडाध्यक्ष लामिछानेले जन्मदिनको अवसरमा विद्यालयसँग जोडिएर गरिएको सहयोगलाई आगामी दिनमा निरन्तरता दिने बताए । उनले अन्य संघसंस्थाहरुलाई विद्यालयसँग जोडिन आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै सञ्चारकर्मी ढुङ्गानाले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा प्रश्न आउने गरेको भन्दै यसको गुणस्तरीयताप्रति सबै क्षेत्रविच गहन छलफल आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक बोधराज बास्तोलाले जन्मदिनको अवसरमा आफ्नो विद्यालयमा गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले यो सहयोगले विद्यार्थीको पढाईप्रतिको रुची बढ्नुका साथै विचमै पढाई छोड्ने क्रम घटाउनमा सहयोग पुग्नेसमेत विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालक सहायक प्रध्यानाध्यापक हरिहर सुवेदीले गरेका थिए ।
कक्षा १२ सम्म पठनपाठन हुँदै आएको सो विद्यालयमा १५० जना विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।