पोखरा ।
पोखरामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, किसानका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।
त्यस्तै किसान तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, किसान सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सव शुभारम्भ गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्नुहुँदै कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको औँल्याए । गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था मन्त्रालयका सचिव वासुदेव रेग्मीले हेमजामा खेतीयोग्य जमिन क्रमश घडेरीकरण हुँदै जानु दुःखद् भएको औँल्याउँनुहुँदै आलुको उत्पादन तथा उत्पादकत्व बृद्धितर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विष्णुपादुका क्लव हेमजाको पहिचान स्थापित क्लव भएको स्पष्ट्र पार्दै क्लवले आलु महोत्सव मार्फत हेमजा र समग्र पोखरा क्षेत्रलाई नै ब्रान्डिङ गर्न भूमिका खेलेको जनाए । महोत्सवले कृषि पेशामा लाग्न किसानहरुलाई हौसला थप्ने उनको भनाई छ ।
क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको साथ सहयोगले आलु महोत्सवले निरन्तरता पाइरहेको उल्लेख गर्नुहुँदै क्लवले सामाजिक उत्तरदायित्वपूर्ण गतिविधिलाई निरन्तरता दिने जनाए ।
क्लबले हलगोरु पाल्ने किसान विजय रानामगर, हरीकुमार परियार र गंगाबहादुर कार्कीलाई नगद रु. १० हजार सहित सम्मान गरियो । वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० किसानले व्यवसायिक आलु खेती गर्दै आएका छन् ।
त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ ।आजदेखि सुरु महोत्सव यहि वैशाख ३ गतेसम्म संचालन हुनेछ।
मूल समारोह समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम महासचिव हिक्मत थापा तथा संचारकर्मी परशुराम अधिकारीले संयुक्त रुपमा संचालन गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।