गण्डकीमा मन्त्रीपरिषद्ले पायो पूर्णता, एमालेका चार मन्त्रीले लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भदौ १७ पोखरा । गण्डकीमा अन्ततः एमालेपनि सरकारमा सहभागि भएको छ । केन्द्रको गठबन्धनको मर्म अनुसार गण्डकीमापनि एमाले र कांग्रेसको मात्रै सरकार बन्नुपर्ने र मन्त्रालय संख्या ७ लाई नबढाउने अडानमा रहेको एमाले अन्ततः दुबै शर्त मानेर सरकारमा सहभागि भएको हो । आफूलाई दुःखमा साथ दिएका नेकपा माओवादीको चुनाव चिह्नबाट जितेका फडिन्द्र देवकोटा र मनाङबाट स्वतन्त्र जितेका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कुनैपनि हालतमा नहटाउने अडानमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अडिग रहेपछि अन्ततः एमाले लत्रिएर सरकारमा सहभागि हुन बाध्य भएको हो । एमालेको शर्त नमानेका मुख्यमन्त्री पाण्डेले मन्त्रालय संख्या ७ बाट बढाएर ९ पु¥याउन उल्टै एमालेलाई सहमत गराएका छन् । जस अनुसार गण्डकीमा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय लिने सहमति भएको छ । कांग्रेसले आफ्नो कोटाबाट देवकोटा र मनाङेलाई मन्त्री बनाएर यथावत राखेका छन् ।

योसँगै गण्डकीमा केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको छ । ४ मन्त्रालय पाएको एमालेले पद्मासहित बागलुङका कृष्ण पाठक र मित्रलाल बस्याल तथा कास्कीका प्रकाशबहादुर केसीलाई मन्त्री बनाएर पठाएको छ । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो सपथग्रहण गरे । नवनियुक्त मन्त्रीहरुलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले एक समारोहकाबीच सपथग्रहण गराएका हुन् ।

नवनियुक्त एमाले मन्त्री जिसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, पाठकले स्वास्थ्य र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएपनि उनले सो मन्त्रालय अस्वीकार गरेर राजिनामा दिएका छन् ।

कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सो दलका डा. टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, नेसपा सांसद फडिन्द्र देवकोटाले उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय सम्हालेका छन् ।

यसअघि आइतबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठकले गण्डकी प्रदेशमा २ वटा मन्त्रालय थपेर ९ वटा मन्त्रालय बनाउने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा शुरुमा १२ मन्त्रालय, त्यसपछि ११ र ८ मन्त्रालय बनाइएको थियो । मन्त्रालय धेरै बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि खगराज अधिकारी मुख्यमन्त्री बनेका बेला ७ मन्त्रालयमा झारिएको थियो ।

तर अहिले फेरी २ वटा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार आइतबार बसेको मन्त्री परिषद बैठकले वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयलाई वन तथा वातावरण र उद्योग तथा पर्यटन मन्त्रालय बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई टुक्राएर सामाजिक विकास र स्वास्थ्य गरेर छुट्टाछुट्टै मन्त्रालय बनाउने निर्णय गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।