भदौ २० पोखरा । गण्डकी प्रदेश सभाको बैठक झण्डै दुई महिनापछि बस्ने भएको छ । गत असार २६ गते बैठक बसेर स्थगित गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गतेका लागि बोलाइएको हो । गण्डकी प्रदेश सभा सचिवालयले भदौ २६ गतेका लागि बैठक बोलाइएको जनाएको छ । गत असार २६ गते बजेट पारित भएपछि बैठक स्थगित भएको थियो । त्यसपश्चात बैठक बस्न सकेको थिएन ।
तर अहिले गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सामेल भएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बैठक बोलाउन सचिवालयलाई भनेका हुन् । यसअघि गण्डकीमा सरकारको जोडघटाउको रस्साकस्सीका कारण संसद प्राथमिकतामा परेको थिएन । जसले संसदीय गतिविधि प्रायःशुन्य बनेको थियो ।
संसद बैठक मात्र नभई मिनि संसद भनेर चिनिने संसदीय समितिहरुपनि निस्कृयजस्तै थिए । उनीहरुलेपनि यस बिचमा बैठक राख्न सकेका थिएनन् ।
प्रदेश सभामा हाल बिजनाषक विषादी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्म सम्बन्धमा बनेको विधेयक गरेर संसदमा ३ वटा विधेयक बिचाराधीन अवस्थामा छन् । जसमध्ये बिजनाषक विषादी व्यवस्थापन सम्बन्धमा बनेको विधेयक सामान्य छलफलपछि दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ । आगामी संसद बैठकमा सोहि विधेयकबारे छलफल हुनेछ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।