पोखरा ।
होटल प्रतिनिधि समाज कास्कीले २ दिने डिजिटल मार्केटिङ तथा पर्यटन सेवा अभिबृद्धि तालिम सम्पन्न गरेको छ । पोखरामा आन्तरिक तथा वाह्य पर्यटक प्रवेश गर्दादेखि विदाई हुँदासम्मको अवस्थामा सन्तुष्ट बनाउने अभियानमा ६१ भन्दा धेरै व्यवसायीलाई तालिम दिएको होटल प्रतिनिधि समाजले जनाएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा प्राविधिक शिक्षालयसँगको सहकार्यमा होटल समाजले तालिम सम्पन्न गरेको समाजका अध्यक्ष माधव लम्सालले जानकारी दिएका छन् । तालिममा सहभागिहरुलाई साईबर क्राईम निवारण कसरी गर्ने, डिजिटल मार्केटिङलाई कसरी वैज्ञानिक र आधुनिकतामा ढाल्ने, अपेक्षाकृत पर्यटक सेवामा कसरी प्रभाव बनाउने, बैंकिङ कसुर तथा ठगीको बारेमा कसरी कामदारदेखि पाहुना सम्मलाई जानकारी दिने, पोखरा घुम्ने पर्यटकलाई प्रविधिको माध्यमबाट कसरी सेवा दिने लगायत विषयमा सिटिईभिटीका को–अडिनेटर दिनेश श्रेष्ठ, प्राध्यापक एवं पर्यटन विज्ञ दिपेन्द्र पहारी, होतबहादुर रोक्का लगायतले तालिम दिएको होटल प्रतिनिधि समाजका वरिष्ठ उपाध्यक्ष जिवराज उपाध्यायले जानकारी दिएका थिए ।
तालिमलाई व्यवस्थित बनाउन र सिकेको सीपलाई अधिकतम सदुपयोग गर्न नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले सुझाव दिएको होटल प्रतिनिधि समाजका महासचिव शिव पौडेलले जानकारी दिए । समाजका अध्यक्ष माधव लम्सालले तालिमलाई सफल बनाउन सीपलाई व्यवहारमा उतार्ने भएकाले घुमौ पोखरा अभियानलाई सफल बनाउन आजैदेखि क्रियाशील भएर लाग्न सहभागी सवैलाई आग्रह गरेका थिए ।
तालिममा साइबर क्राईम र बैकिङ क्राईम सम्वन्धी प्रशिक्षण दिइएको थियो । विभिन्न ६ वटा सेसनमा भएको तालिममा टानका अध्यक्ष कृष्णप्रसाद आचार्य, हानका अध्यक्ष लक्ष्मण सुेवदी, पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष भिमप्रसाद पराजुली लगायतले बोलेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।