चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
    कार्यक्रमको एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरे । अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउन लाग्नुपर्नेमा जोड दिए । 
    विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले धेरै आरोह अवरोह पार गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताए । उनले     शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउने गरी विद्यालय परिवार लाग्नुपर्नेमा जोड दिए । 
शिक्षासेवी एवम् अक्षयकोषदाता पिताम्बर पौडेलले स्थापनाकालदेखि बर्तमानसम्म यहाँका स्थानीय समाजसेवी, बुद्धिजीविको अथक प्रयासकै कारण विद्यालय यस अवस्थासम्म आइपुुगेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै सबैको सहयोगको अपेक्षा गरे । 
अध्यक्ष क्षेत्रीको सभापतित्व एवम् शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछानेले सञ्चालन गरेको कार्यक्रममा पूर्व शिक्षिका सरस्वती खत्री, अक्षयकोष दाताहरुको सम्मान सँगै कक्षागत रुपमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार चेतबहादुर महत, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कमलप्रसाद पौडेल, नेकपा एमाले पोखरा महानगपालिका वडा नं ३३ का अध्यक्ष टुकराज भण्डारी, विद्यालयकी छात्रा लक्ष्मी केसी,  लगायतले बोलेका थिए । उक्त अवसरमा अभिभावक खेलसँगै विद्यार्थीहरूले भजन, गीत, नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।