बेष्ट अटो क्राफ्टले अटो क्षेत्रको अपेक्षा पुरा गराउँछ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा पृथ्वीचोक यातायात गल्लीमा एक अटो व्यवसायी कर्मचारीलाई राम्रोसँग हेर है, भोली यो गाडी निकाल्नु पर्छ, गाडी साहुले सेतो रङ लगाउने भनेका छन् भन्दै हतार हतारमा देखिन्छन् । आकासको पानी नपर्दैै भ्याउनु पर्छ भनेका उनले गाडी बनाई सकेपछि सुरक्षित पार्किङमा लैजाने रहेछन् । पोखरा बुद्धचोकमा जन्मेका उनै रणबहादुर खत्रीले विश्वका विभिन्न मुलुकमा सिकेको सीपलाई आफ्नै घरआँगनमा प्रयोग गर्ने योजना बनाएका रहेछन् । सन् २००७ देखि इराक, अफगानिस्थान, दुवई, कतरा जस्ता विभिन्न मुलुकबाट अनुभव लिएका खत्रीले स्वदेशमै केही गर्ने योजना विगत ५/७ महिना यता तय गरेका थिए । 
उपयुक्त ठाउँको खोजी गर्दै हिडेका उनले पोखरा ९ पृथ्वीचोक यातायात कार्यालयसँगै करिव ३-४ रोपनी जग्गा भाडामा लिएर अटो व्यवसायीबीच सहकार्य गर्ने निधो गरेसँगै उनले झन्डै ३५ लाख रुपैयाँ लगानी गरिसकेका छन् । पृथ्वी राजमार्ग यातायात व्यवसायीमा विगत लामो समयदेखि आवद्ध रणबहादुर रोजगारका लागि वैदेशिक यात्रा आफैले रोजेपनी आफ्नै मुलुकमा केही गर्ने इच्छा राखेका हुन् । उनको अटो क्रफ्टमा ८-९ जनाले रोजगारी पाएका छन् । केही नेपाली र १ भारतीय कामदारलाई रोजगार दिएका खत्रीले आकर्षक, विश्वसिलो र भरपर्दो सेवा नै आफ्नो धर्म हुने बताउँछन् । 
जिरोबाट सुरु गरेका उनको व्यवसायमा हालको अवस्थामा करिव २०-२२ वटा गाडीले नियमित सर्भिसिङ तथा मर्मत गराउँछन् । इन्जिन बनाउने देखि डेन्टपेन्ट, वासिङ, गाडीको झ्याल ढोका, सिट मर्मत, कलर पेन्टिङ लगायत गाडीमा आउने सम्पूणर् समस्या पहिचान गरेर व्यवसायीको मन जित्ने उनको योजना थियो । कार्यालय तथा ग्यारेजमा सिसी क्यामरा जडान गरेका खत्रीले सामान सुरक्षित हुनेदेखि अन्य कागजातको जतनबारे ज्ञान समेत दिँदै आएका छन् । उमेरले परिपक्क खत्री ४६ वर्षको उमेरमा निकै फुर्तिला देखिन्छन् । श्रमिकको श्रमलाई सम्मान गर्न बुझेका उनले खाने वस्ने सुविधामा श्रमिकको मन जितेको कुराकानी कै क्रममा देखिन्थ्यो । कार्यस्थल सफा र सुरक्षित हुनै पर्ने बुझेका व्यवसायी खत्रीले आगामी दिनमा गाडी सञ्चालक तथा साहुको चाहना अनुरुप सेवा विस्तार गर्ने भएका छन् । 
गण्डकी प्रदेशमा डिजिटल प्रविधि मैत्री बेष्ट अटो क्राफ्टलाई नमुना बनाउने योजनामा रहेका खत्रीले गाडीको राम्रो सर्भिसिङ गर्ने स्थान बनाउने लक्ष्य लिएका छन् । समय सुहाँउदो परिवेशलाई मनन् गर्ने योग्यता राख्ने उनले कम्पनीको नाम अनुरुप सेवा दिनेमा सम्झौता नगर्ने बताउँछन् । सामान चोरी हुने, सोचे अनुरुप सेवा नपाईने, ढिलो सर्भिस हुने, अरुलाई दुःख हुने क्रियाकलापबाट टाढा रहनु पर्छ भन्ने मान्यता स्पस्ट बोकेका खत्रीले अटो क्षेत्रमा विदेशको अनुभवलाई नेपालमा राम्रोसँग सदुपयोग गर्ने बताउँदै आएका छन् । गरे जस्तो पनि हुने उदाहरण दिन सफल रणबहादुरले स्वदेशमै केही गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्न लागिपरेका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई targetkhabar@gmail.com मा पठाउनु होला । धन्यवाद ।